कथा

छोरालाई चिठी

✍️कृषा के.सी
कोटेश्वर, काठमाडौ 


सबैका आफ्ना आफ्ना कहानी हुन्छ्न भोगाइ हुन्छ्न कतिले तिनै भोगाइलाई समेटेर लेख्छ्न तिनीहरूका कहानी पढिन्छन रुचाइन्छ्न। कतिलाई त्यहि कुरा प्रेरणा दिने खालको हुन्छ। जे होस जीवन आफैमा अमुल्य छ।त्यसलाई खेर फ्याल्ने नसोच्नु होस। केही पल दुखमा हिडे पनि केही पल सुखमा हिडे पनि जिन्दगीको भरपुर उपयोग गरेर जिउनुहोस। बारबार जिन्दगी जिउने मौका मिल्दैन। मेरो भोगाइको एक चित्रण यहि हो जुन सुरुवात यसरी हुदैछ। तिमीलाई पेटमा बोकेर तिमीले पेटमा राख्दा लात्ती लगाएको तिम्रो नादानीमा थियो मेरो खुशीको पल आमा बन्ने शौभाग्य आहा कति मिठो महसुस!! तिमीलाई कोखमा बोक्दा सन्सारको खुशी दिन तल्लीन थिए। मेरो केही गल्तीले तिमीलाई केही भै पो हाल्छ कि म सचेत थिए। तिमीले सन्सार चिहाउन खोज्दा म एकपटक मरेर बचेकी थिए। हेर्दा तिमी छेउमा थियौ म आमा बनेकी थिए!! काश तिमीलाई त्यो महशुस भैदिए!! राखेको पनि हो बर्षौ छातीमा टासेर त्यो एकै पलको भए पनि तिमीलाई महसुस भैदिए छोरा !!

तिमी मलाई नजिकै बृद्दाश्रममा लाई पुर्‍यायौ म नछोड छोरा म रोए, कराए, चिच्याए मेरो चित्कार सुन्ने कस्ले??मेरो साहारा अनि मेरो जिन्दगीको एक मात्र टेको तिमी थियौ। तिमी नै माकुरो जस्तै जाल बुन्न मस्त मबाट छुटकारा पाउन तल्लीन रहेछौ। गित सुन्थे
"माकुरो जाल बुन्छ यहाँ पर्दा पछाडि नै
दुखेर कोहि रुन्छ यहाँ पर्दा पछाडि नै"
लाग्छ त्यसै भनिएको रहेनछ। यहाँ पर्दा पछाडि, नजरको पछाडिबाट सिद्याउने चाल चलिरो रहेछ त्यो पनि आमाको विरुद्ध छोरा अनि बुहारीले यो कस्तो बिडम्बना हो। आफ्नाहरुको अझ भनौ आफुले जन्म दिएको छोराबाट जुन छोरा उस्को खुसीको लागि बर्षौदेखी आँसु लुकाएर हासो दिन तल्लीन छ उसैको पछाडि यति जालझेल हुदो रहेछ म त्यो कहिले त्यो कल्पिन सोचिन। सानैमा तिम्रो बाबाले सन्सार छोडे बा आमाको प्यार दिए। तिमीलाई हुर्काए पढाए।आज म तिम्रो लागि धेरै कुरामा सम्झौता गरे तर आज म तिम्रो लागि धेरै नै बोझ भए। मैले चाहेको भए तिमीलाई थप्पड लगाउदै घरबाट निकालिदिन सक्थे। घर मेरो नाममा थियो जग्गा मेरो नाममा थियो। बाच्न हरेक कुरामा सम्झौता गरेकी म तिमीसङ्ग हार्नु झुक्नु सहि र जाहेज लाग्यो आफ्नालाई हराएर कसरी जित्न सक्थे र म दुनियाँलाई त खुसी देख्न हारिदिने म तिमीलाई हराएर जित्न के मज्जा हुन्थ्यो र त्यसैले त म तिमीले ल्याइपुर्‍याएको बृदाश्रममा आइपुगेकि छु।

म सम्झन्छु बिगत तिमीलाई हुर्काउन,बढाउन,पढाउन यी हातमा फोका,ठेला उठेका यी ढाडका छाला गएका थाप्लोमा नाम्लोको डाम बसेका ती यादमा छन ती अमिट बनेर बसेका छन न धुदा जान्छन् न धुदा नै हिजो बाजो धरतीमा पसिना बगाए तिम्रो भबिष्यको सिचाइ गर्न। खुट्टामा एकजोर चप्पल थिएन। लगाउन एकसरो कपडा बाहेक केही थिएन। बाहिर हेर्दा बाजो जमिन थियो। त्यसैलाई मलजल गरिरहे। तिमीलाई पढाउन बढाउन।अधिकाम्श समय तिम्रो हेरचाह गर्दै बिताए आफू भोकै बसेर तिम्रो साहारा बन्न खोजे मान्छेसङ्ग ठाउँसङ्ग समयसम्म सबैसबैसँग सम्झौता गरे मेरो कारण तिम्रा अङकल आन्टीको परिवारको समाजको नजरबाट टाढा भए। आफ्ना गुमाए दु: ख सङग हात मिलाए, कहिले पिडाले रोए, कहिले छट्पटी दिन रात बिताए तिमीलाई मान्छे बनाउन तर आज तिमी कति छिटो परिवर्तन भयो है छोरा!!

म अझै बिगतमा पुगेर चिहाउछु। तिम्रो बा जागीरे थिए परिवार चलाउन थिए उनी आँखामा राख्दा नबिझाउने मलाई माया गर्ने सम्झाउने,बुझाउने, सिकाउने गर्थे। आखामा राख्दा नबिझाउने उनी भगवानको पनि प्रिय् बने। उनी इन्डियन आर्मी थिए युद्धमा गोली लागेकोले उनलाई समय अगाबै पेन्सन सहित बिदा गरिएको थियो। उनी घरमै थिए उनको छातीमा गोली लागेको थियो भलै त्यो गोली निकालीएको थियो। उनको मनमा डर कायम थियो उनी बर्बरराउने,कराउने,डराउने,तर्सिने गरिरहन्थे। उनी यहि घाउ भुल्न सकेनन। मानसिक रूपमा बिक्षिप्त बनेका उनी सधैंको लागि मलाई एक्लै पारेर गए। टुहुरो पारेर गए। जिन्दगीका रंगिन बस्त्र सादा पारेर गए। सपनाहरू सादा पारेर गए। सात जुनी साथ दिन्छु भनेका उनी जेनतेन ९/१० बर्ष साथ दिएर गए। उनी गए मलाई भुल्न नसकिने दाग दिएर गए। एक्लो नितान्त एक्लो बनाएर गए। म उनको सम्झनामा भाब बिह्वल भएकी थिए मेरा आफन्त मलाई सम्झाइ बुझाइ गर्नु त कता कता तिखा बाण जस्ता वचन लगाई घाउमा नुन लगाइदिन्थे।

उनीको माया उनको सम्झना रह्ह्यो, मनमा रह्यो, कल्पनामा रह्यो। तिमी एक पटक सम्झ त बाबू म कति तिरस्कार भए कि थिए होला। कलिलो उमेरमा बिधुवा हुँदा मैले के के सुन्नु पर्‍यो होला। त्यो सब्द म कसरी भुल्न सक्छु। तिम्रै हजुर आमाले त मलाई त अलछिना तैले पोइ टोकिस लक्षिन कि हुदिहोस त तेरो हातमा चुरा हुन्थ्यो सिउदो सजिएको हुन्थ्यो त पोइ टोकाइको भाग्य कहाँ भनी सासू सुनाउनुहुन्थ्यो। मन पोल्थ्यो तिम्रा बा मर्दाको पीडा म कसरी भोगिरहेको छु त्यो बुझ्नु त कता कता उल्टै धारिलो बचनका तिर चलाउनु हुन्थ्यो। ससुरा पनि सासुको कुरामा नै सहमत अझ भनौ आगोमा घ्यु थपिदिनुहुन्थ्यो। भन्नुहुन्थ्यो तेरो भाग सम्पत्ति दिन्छौ त घर छोडेर जा भनी अनि तेरो यो पहिरनले गर्दा मान्छेहरुले घरप्रतिको हेर्ने दृष्टिकोण नै परिवर्तन गरे तलाई देख्दा मान्छेहरु अशुभ भन्दै हिड्छ्न हामीले कसरी झेल्नु भन्नू भएको थियो ससुराको त्यो शब्द अझै कानमा ठोकिन आइपुग्छन। मुटुमा बिझ्छन तर म भाग्यले ठगिएकी र निरीह म के गरौ। उहाँहरुको लागि म र त्यो पहिरन बोझ भएको थियो। त्यो शब्द मैले कसरी सुने भोगे र महशुस गरे म त्यो बताउन कसरी सक्छु छोरा!!

घरमा त मलाई मेरो कुरा सुनिदैन्थ्यो र केवल सुनाउने मात्र काम हुन्थ्यो। घरमै यस्तो भए पछी बाहिरी झन के कम घाउमा नुन लगाउन खप्पिस भै नै हाले। हुनत जमना त्यसै थियो। धारो,कुवा, पधेरो, बाटो,पाटी, पौवा, मेला जता गयो उतै उत्सब देखि चिहान म जता गयो उतै त्यो अलछिना देखिइ साइत परेन भन्दै सुनाउथे र सुन्नुपर्थ्यो। कोहि कहाँ जाँदै थिए साइत बिगाइदिए भन्दै कराउथे। त्यो दिन त्यो पल म कसरी भनौ सुनाउ कस्लाई सुनाउ। तिम्रा बा मरेपछि म मुस्किलले एक बर्ष बिताए। ससुरा सासू भन्नुहुन्थ्यो छोराको बर्ष दिनको काम सकिएपछि त निस्केर जा। तलाई देखिपछी छोराको याद आउँछ। तेरो यो उत्रिएको रंग हेर्न मन लाग्दैन। तेरो यो पहिरन हाम्रो लागि शुभ भएन। पीडा त असहिय हुन्थ्यो तर सुनाउने कस्लाई मन दुखे पनि आँसु झरे पनि। म चुपचाप चुपचाप अगाडी बढिरहे। त्यस्को न कुनै विकल्प थियो न बिरोध गर्ने साहस नै। सोच्थे आफ्नो भाग्यमा सौभाग्य र पतिको साथ लेखिएको रहेनछ। दुनियाँ जे सुकै भनोस भने जस्तो लाग्थ्यो दुनियाँले भन्यो भन्दैमा मर्न सकिदो रहेनछ। बाच्न त मन थिएन तर बाच्नु पर्ने रहेछ आफ्नो लागि भन्दा पनि अझ सानो छोराको लागि बाच्नु पर्ने रहेछ। सायद मेरो भाग्यमा दुख लेखिएको दुख झेल्नको लागि बाच्नु पर्दोरहेछ मलाई त्यस्तै लाग्छ।"दुख हो जीवन दु:ख मै गाल्छु" जस्तो लाग्यो। म दुख त पलपल भोगिरहेकै थिए दुनियाँको कुरा सुनेर,अनि भोगेर चुक्ता गरिरहेकी थिए अझैसम्म त्यसैको पलपलमा चुक्ता अहिलेसम्म पनि गरेको छु।

बाबाको बर्सी पछाडि तिम्रो अन्कलहरु आमा बुबा मिलेर मलाई सम्पत्ति छुट्याइदिनु भयो। त यो बेचेर कतै टाढा गएर बस भन्दै सुनाउनु भयो। घरमा उनको यादसङ्ग बस्न पाउने भइन। मलाई अब घर निकालिने पक्का पक्की थियो। म सुत्न त सुत्थे तर निदाउन सक्दिनथे। हारगुहार गरौ को सङ्ग गरौ हारगुहार गर्ने ठाउँ थिएन। मनभरी केही थोरै नै भए पनि आशा बोकेर गुनासो सुनाउन माइती गए। आमा मेरो पहिरन अनि छोरा तिमीलाई हेरेर रुनु भयो। आमाले मलाई बोलिले भए पनि सहयोग गर्नु भयो साहारा दिनु भयो। मलाई ढाडस दिनुभयो। भन्नुभयो तेरो दाइ सहर छ जा बेचेर उतै भन्नू भयो।अलिकति साहारा मिल्यो। अलिकति भएनि मन बलियो भयो। अब भाग आएको सम्पत्ति बेच्ने त बेच्ने तर कस्लाई चिन्ता लाग्न लाग्यो। किन्ने को भैदिएला भन्ने लागिरह्यो। अब कहाँ जाने होला आफ्नो भनेको ठाँउ त बिरानो भयो। अरु कुन ठाउँले मलाई स्वीकार्ला मनमा खड्किरह्ह्यो। घर अनि माइती बिचका डाडाहरुमा पनि थियो आत्मियता त्यतै थियो चिनजान त्यो भन्दा न चिनेकी थिए न त देखेकी नै थिए। अब घर निकालिए पछि कता जानू के गर्नु मलाई आपत परेको थियो। त्यो पल कसरी सम्हालिए त्यो तिमीले पनि महशुस गरेको भए !!

घर फर्किए अनि सासू ससुरालाई सल्लाह गर्दै सुनाए म यो सम्पत्ति बेच्छु अनि तपाईंले भनेको जसरी नै यो गाउँ छोडेर जान्छु बस तपाईंहरुले त्यो जग्गा किनिदिनु पर्‍यो भनी सासु ससुरालाई अनुनय बिनय गरे। सुरुमा उहाहरुले तैले नै कसैलाई बेच भन्नुभयो तर मैले तपाईहरुको आफ्नो सम्पत्ति हो किन्नु आफ्नै हो मलाई पैसा दिनु भने। वि. स २०३२सालमा जायज्याथा मैले राजीनामा गर्ने र सासुससुरा देवार जेठाजु मिलेर लिन्छौ सम्म भन्नू भएको थियो। त्यसको ६ महिनामा बेच बिखन गरे। जम्मा पैसा थियो १५५०० म त्यही पैसा साथ लिएर काखमा छोरो च्यापेर हिडेको मान्छे साथमा केही पर्चपर्चको पोका थिए। म २ दिनको पैदल यात्रा गर्दै गाडी चढेर सहर झरेको हो। तिमीलाई पनि त्यो पल त्यो क्षणको याद हुनुपर्ने हो याद हुनुपर्ने उमेर त भएकै थियो।

मलाई आमाले माटोको पैसा माटोमै लगा है छोरी भन्नू भएको याद ताजा छ म काठमाडौ दाजुको डेरामा आइपुगे। दाजुलाई एक्लै बसेको ठाउँमा म थपिदा समस्या पर्ला बेकार समस्यामा के पार्नु समस्या त म हो जुन आफै भोगिरहेकी छु जस्तो लाग्यो। म आफै कोठा खोजे सबैको लागि बोझ बनेकी म दाजुसङग पनि बोझ बन्नु थिएन। दाजुभाइ मलाई अलिकति जग्गा खोजिदिनु म माटोको पैसा माटोमा लगाउछु भने। आमाले दाइलाई सिकाउनु भएको थियो दाजुले आमाको कुराको मान राख्दै मेरो कुरा काट्नु भएन। आफ्नो पैसाले पुग्ने जति जग्गा खोजिदिनु भयो मलाई अलिकति राहत मिल्यो। वि. स २०३३ सालमा मैले १४००० राखेर १० आना जग्गा किने। आमाले भनेको माटोको पैसा माटैमा लगा भन्नू भएको थियो मैले त्यसै गरे। काठमाडौ आएको २ महिनामा मैले जग्गा किनेकी थिए। छोरा तिमीलाई स्कुल भर्ना गरेकी थिए। जीवनका धेरै सपनाहरू चिहान बनाएकी म केही भएपनी आशा रहर सपना पलाएर आए अझै केही त बाकी नै छ जस्तो लाग्यो। मनलाई सम्हाले बिस्तारै। दिन हुने र ढल्ने क्रम चली नै रह्यो। जुन चोटले आलोमा दु:ख दिन्छ त्यो बिस्तारै कम हुँदै जादो रहेछ त्यो महशुस गरेको छु।

मनमा एक्लोपन त छ्दै थियो एक्लोपन भए पनि म हरेक दुख छोराको मुख हेर्थे र भुल्थे। अत्यावश्यक अनि आवश्यकताका चिजमा खर्च नगरी नहुने खर्च गर्दा पैसा सकियो खाने के गर्ने के समस्या भयो म तनाबमा त थिए नै अब त झन समस्या थपिदै थिए। यत्तिकैमा एक दिन घर बनाउने ठाउमा इटा बोक्ने काम गर्न थाले। गाउघर मेलापात गर्ने घाँस काट्ने बोक्ने गोबरका डोका बोक्ने खनखोरस गर्ने म इट्टा बोक्न कुनै समस्या भएन। दिन जेनतेन कट्न थाले। बाबू ६ मा पढ्ने भैसकेको थियो। बाबू एक्लै बस्न र खान सक्ने भैसकेको थियो। बाबूलाई एक्लै कोठमा बस्ने पकाउने खान केही आफ्ना काम गर्न सिकाएकि थिए। बाबुलाई एक दुई महिनालाई पुग्ने रासनपानीको ब्यबस्था गरिदिए। म भने दाजुलाई लगेर वि.स २०३६ सालमा उनी मरेको करिब ४ बर्षपछी म ईन्डिया गए सम्पुर्ण प्रोसेस मिलाएर पेन्सन लिन सक्ने भए। उनको नामको पेन्सन अब मेरो नाममा आउने भयो। करिब एक महिना लामो बसाइ कामको कागजपत्र मिलाउन समय लाग्यो। म अक्षर मात्र चिन्न सक्ने काम कसरी हुन्छ त्यो बुझ्न नसक्ने थिए। दाजुको साथ लागेर गएकी म ईन्डियन आर्मी फोर्सको त्यो पेन्सन ब्यबस्थाको लागि विधि र प्रक्रिया पूरा गरि हामी फर्कियौ। त्यो काम दाजुको सहयोग बिना सम्भव नै थिएन। इन्डिया मेरो लागि नयाँ ठाउँ थियो मलाई ठाउँ नचिन्ने समस्या भयो। अर्को भाषामा समस्या बल्लतल्ल भाषा बुझे पनि बोल्न नसक्ने थिए म । एकपटक हिडेको बाटो पत्ता लगाउन नसक्ने म थिए। दाजुको सहयोगले काम बन्यो दाजुको त्यो कार्यका लागि म सधैब ऋणी छु।

उनी आर्मी थिए उनको पेन्सन आउथ्यो। पेन्सन नामसारी भयो। गुजारा गर्न केही राहत मिल्यो। म इट्टा बोके, बालुवा चाले, साबेल चलाए, ज्वाबेल चलाए, मलाई काम गर्नमा लाज लागेन। फेरि लाज मानेर केही भएन लाज मान्दा मुखमा माड लगाउन समस्या। पहिरन सेतो भए पनि समयसङै सपना भने रङ्गिन बन्दै गए। छोराले भोलि कतै केही पो भन्ला कि भन्ने लाग्ने आमा यस्ती उस्ती भनी सराप्ला कि भन्ने डर पनि भयो मनमा। बिचाराको बाबू नभएकोले मेरो घर छैन बाँस छैन भनी सराप्ला मलाई धिक्कारला भन्न्ले लाग्यो म रातदिन पसिना बगाएर पसिनासङग पैसा साटे तिम्रो मेरो खुशीको लागि श्रम बेचेर पैसा साटे। मैले तिमीलाई कहिले दुख देखाइन जुन दुख मैले भोगिरहेको छु त्यो तिमीले भोग्नु नपरोस् भन्ने एक आमाको चाहा हुन्छ र मैले त्यसै गरे।

छोरा तिमीले बि.स २०४० सालमा slc दिएका थियौ। मलाई त्यो तिम्रो रिजल्ट आउदाको तिमी उत्तीर्ण हुदाको पल हिजो जस्तो लाग्छ। त्यो दिन मेरो जिवनको खुशीको दिन थियो। दिन बित्न बेर लाग्दो रहेनछ। दिन बित्तै गए छोरा तिमी ठूलो हुँदै गयो। तिम्रो बाबाको पेन्सनको पैसा अनि मैले भारी बोकेको पैसा खाइ नखाइ बचाए बाँस बनाउनको लागि। तिमीले +२ सकेर २०४४ सालमा सरकारी जागीरमा पाइला राख्दा सबैभन्दा खुशी म भएकी थिए। तिमीले मेरो बर्षौको त्याग र तपस्या अनि आफ्नो मिहिनेतको दमामा पाएको जागीरमा तिमी अन म कति खुशी थियौ आज ती दिन सम्झ त ? मैले २०४७ सालमा काठमाडौमा सामान्य घर बनाए। मेरो बर्शौको मिहिनेत तिम्रो बाको ज्यान लिएको कामको पेन्सन लगायत तिम्रो मेहनतले कमाएको धनले जेनतेन घर बनायो। दुनियाँको घर बनाउन इट्टा बोकेकी म आफ्नो घरमा पनि त्यो काम गरे। त्यसैले हामी मिलेर जग हाल्यो घर बन्यो। मनमा खुशी लाग्यो। तिम्रो पनि इच्छा थियो घर बनाउने घर भए पछि मात्र बिबाहा गर्ने भन्थ्यो। मैले त्यसमा सहमति जनाएकी थिए। मेरो हरेक काम तिम्रो उज्ज्वल भबिष्यसङ्ग जोडिएका थिए। मेरो र मेरा भन्ने कोहि थिएनन्। छोरा तिमी नै मेरो भरोसा र बाच्ने आधार थियौ र छौ।

तिम्रो खुसीको लागि मैले तिम्रो हरेक कुरा माने। तिमी गाउँमा जन्मिएको भए पनि सहरमा हुर्काए। आफू भोकै बसेर तिम्रा इच्छा पूरा गरे। तिम्रो पढाइ लवाइ खुवाइ लगायतका जिम्मेवारी मैले सम्हाले। तिमीलाई मायामा र तिम्रा आवश्यकता पूरा गर्न म कहिले पछि हटिन। तिमी बिहेको कुरा तिम्रै हाकिमकी छोरीसङ्ग गर्छु भन्यौ उनी काठमाडौंको धनी परिवारमा जन्मिएकि थिइन। हामी गरिब मान्छे सानो मान्छेले त्यति ठुलो परिवारकी छोरी आट्नु हुदैन भने तर तिमी उसैसङ्ग बिहान गर्छु भनी अड्डी कस्यो मैले तिम्रो खुशीको लागि सहमति जनाए। एकमात्र छोराको बिहे धुमधाम गर्ने आमा छोराको सल्लाह थियोे। त्यही अनुसार वि.स २०५० साल मंसिर २६ गते काठमाडौको गुहेश्वरी मन्दिर बाट भयो। ऊनी पनि सरकारी जागीरे (नर्स) थिइन। दुबै जना जागिरे म पनि फाट्टफुट्ट काम गरिरहन्थे। बिहेको ३ बर्षपछि अर्थात वि.स. २०५३ सालको फागुन १७ गते घरमा नातिको जन्म भयो। मलाई त्यो पल खुसीको अनुभव भएको थियो। मेरो के काम म नातीको स्याहार सम्भारमा लागे। इट्टा बोक्ने ज्यानलाई बाबू हुर्काउन त्यति गार्हो भएन। छोरा तिमी र बुहारी दिनभरी काम गरि फर्किदा नाती हेर्ने स्याहार्ने खाना बनाउने गरिहाल्थे। मलाई छोरा बुहारी नातीसङ्ग जिन्दगीका खुसी भेटेकी थिए। आँखाका आँसु भेल केही रोकिएका थिए केही मत्तथर भएका थिए। म खुशी त थिए तर मेरो खुशी धेरै दिन टिकेन। मेरो खुशीमा सायद भगवान पनि खुशी थिएनन कि म सधै पिडामा देख्ने गरेका उनी खुशीमा खुशी देखिएनन सायद।।

नाति हुर्किदै गर्दा मलाई बुढ्यौलीले पनि च्याप्न थाल्यो। सानैदेखि कामको बोझले होला रोगले च्याप्न थाल्यो। मलाई रुघाखोकी हात जोर्ने दुख्न थाल्यो। यस्तो बेला मलाई तिम्रो सहारा र साथको जरुरत थियो। बुहारी नर्स बनेर दुनियाँको हेरचाह गर्थिन। तर उनी आफ्नो पेसामा जिम्मेवार थिएन। मलाई उनले कहिले मीठो शब्द बोलिनन। बिरामी भएर छटपटाउदा आमा के भो भनिनन। उनी पैसा आउने र जागीर जोगाउने काममा भए ध्यान दिन्थिन होला। मलाई डाडामा पुगेको घाम अब डुब्ने बेला भयो भन्ठानिन क्यार वास्ता गरिनन। आफुले जन्माएको छोरा दुख पिलाएको छोराले पनि राम्रो व्यबहार देखाएर। सान्चै अब म कसैको जरुरत होइन घाँडो भएकी छु जस्तो लाग्यो।

"धुजा परेको जिन्दगी मुजा परेको मन
कस्तो बिडम्बना हो यो हरे मेरो जीवन"
रामकृष्ण ढकालको यो गित गुनगुनाउछु आफुलाई हेर्छु अनि नियाल्छु। यस्तै महशुस गर्छु। मेरो पनि कहर भित्रको रहरमा जिन्दगी तहस नहस भयो। बुढेसकालमा छोरा बुहारीलाई बुढी आमाको वास्ता हुदोरहेनछ। मलाई जस्तै पीडा अरुलाई पनि हुदो रहेछ। अरुका जीवनमा पनि यस्तो हुदो रहेछ। म गित सुन्छु हल्का महशुस गर्छु।


सस्कारको लागि कहिले आफ्नाको मन दुखाउन तरबार चलाउ तर गलत सस्कार बिस्थापित गर्न तरबार चलाउ त्यो सबैलाई मान्य हुनेछ। जिन्दगीलाई झुर बनाएर गयौं छोरा मेरा सपना चकनाचुर बनाएर तिमीलाई स्याबासी कसरी दिउ र खै भन्छन आफ्ना नजलाउ पैसाको लागि कहिले इमानदारीता किन्न सकिदैन! म सिकाउथे तर आझ आफैलाई पछुतो महशुस गरेको छ। पैसामा बिकाउ र टिकाउ माया गरिएको छ भने त्यो माया कहिले इमान्दार हुँदै हुदैन। आज तिम्रो छोराले यो बुढी रातभरि खोक्छे भन्छ कस्तो घिनलाग्दी भन्छ बुहारी उता गैस्यो आमा छोरा तपाईंलाई देखेपछि खान घिन मान्छ खान्न भन्छ। म टुलुटुलु हेर्छु र बिबश लाचार बनेर कोठा फर्किन्छु। त्यो बेला तिमीले तिम्रो श्रीमती अनि छोरालाई सिकाएको भए यो बुढेसकालमा कति स्वाबास्यी दिन्थे होला म !!!

घाम उदाउने डुब्ने निरन्तरता भै नै रह्यो। बिहानमा परेका शितका थोपा लाली छर्दै उदाएका घामले सोस्दै लग्यो।घाम एक निश्चित बिन्दुमा पुगेर डुब्यो। उहीँ गतिमा जुन उदायो। जुनको शितलता शितको त्यो लालित्यता साथै शितको थोपा झार्‍यो। रात पनि डुब्यो। समयको चक्र आफ्नै गतिमा हिडिरह्ह्यो। जुन समयले मलाई बुढ्यौलीमा ल्याई पुर्‍याइ हो त्यही समयले नातीलाई भने हुर्काउदै थियो,बढाउदै थियो,तन्नेरी बनाउदै थियो। समय बित्त्दै जादा तिम्रो छोरी भइन। तिम्रो छोरीको स्वाहार सुसार अनि छोरा स्कुल पुर्‍याउने मेरो दैनिकी बन्यो। छोराछोरीलाई काडाले कोर्न दिइन। कहिले बोकेर कहिले खेलाएर छोरी हुर्किएन। छोराछोरी ठुला भए बुझ्न्र भए कामको लागि म आवश्यक पर्ने महशुस तिमीहरुले गर्न छाड्यौ। बुहारीले बाणभन्दा तिखा बचनले छोड्न लागिन। मानौं उनी मलाई बर्षौ देखि झेलिरहेकी छन। दिनले डाडो काटेका थिए। तिम्रा बच्चा हुर्किदै गर्दा म आफुलाई कमजोर र जिर्ण भएको महशुस गर्थे। बालापन देखि दुनियाँको नजरमा आखाको कसिङगर बनेकी म बुढेसकालमा तिम्रो आँखाको धुलो बन्न पुगे। छोरा तिमी अफिस जादा कहिलेकाही बुहारी छिटो आउँदा मलाई रुखो वचन लगाउथिन। जब म बिरामी पर्थे उनी के छ कस्तो छ वास्ता गर्दिनथिन। यो बुढिलाई मैले झेल्न्न परेको छ भन्थिन। म केही प्रतिबाद गर्न सक्दिनथे। छोरा तिमीलाई सुनाउन मन थियोे तिमीसङग मेरो लागि समय कहाँ थियो र तिमी म भन्दा बुहारीलाई महत्त्व दियौ। उनको रुखोपन नियन्त्रण गर्न कहिले ध्यान दिएनौ।

एकदिन साहस गरे छोरा बुहारीले मलाई नराम्रो मात्र सुनाउछिन म प्रतिको व्यबहार राम्रो छैन। तिमीलाई त्यो ठाउमा र यो अबस्थामा ल्याउन मैले जीवन भरी सङघर्ष गरे आज बुहारी म बाट किन चिडिन्छिन भने तिमी चुपचाप सुनिरह्ह्यौ प्रतिक्रिया दिएनौ। बिहाहले दुई मन दुई परिवार जोड्छ भन्छन त्यो भुमिका निभाउनेहरुको हदमा मात्र लागू हुने रछेछ। उल्टो तिमी पनि म बाट टाढा भयौ। मनमनै सोचे तिमीलाई मलाई भन्दा तिम्रो श्रीमतीको कुरा सुन्दा रहेछौ बुझे तर बिरोध गर्न सक्ने हैसियत थिएन। सानो देखि काम कामले पनि होला शरीर जिर्ण र बूढो भएको छ हात खुट्टा शिथिल भएको छ त्यसमाथि घाउमा नुन लगायौ। हिजो तिम्रो भबिष्य बनाउन भन्दै कहिले खायो कहिले भोकै बस्यो, गाइबस्तुको घासपात, गोबर सोत्तर, वारि खन्ने खोस्रने देखि लिएर घर बनाउन ज्यामी काममा इट्टा बोक्ने, बालुवा चाल्ने साबेल चलाउने, ज्याबेल चलाउने सम्मका कुनै काममा पछाडि परिन। तिम्रो सुनिश्चित भबिष्य होस भन्ने चाहिरहे।

हिजो कसैले केही भन्दा रुने काख, तिमीलाई केही चाहिदा माग्न दुख पर्दा टासिएर रुने काख यहि हो छोरा तिमीलाई छातीमा टासेर तिम्रो दुख भुलाएका खै कसरी बिर्सियौ तिमी खै समयको चक्र यस्तै थियो कि तिम्रो मन म त्यो बुझ्न सकिन। सायद म अबुझ थिए त्यसैको फाइदा तिमीले उठायौ र त आज म मक्कीएको घरको खम्बा भए जुन तिमीले परिवर्तन गर्न खोजिरह्ह्यौ। मक्कीएको भए पनि म त तिम्रो घरको मुल खम्बा हो खै त बुझेको आमाको काख नै स्वर्गीय आनन्द दिने ठाउँ भन्छन खै त छोरा खै त्यो तिमीलाई महशुस भएको??
तिम्रा सपना साकार गर्दा गर्दा मेरो रंगिन जीवन सादा भयो। सपना सादा भयो भने तिम्रो भबिष्य के होला चिन्ताले सताउथ्यो पोल्थ्यो। खै त तिमीलाई त्यसको आभास भएको!!

तिमीले मलाई आजभन्दा १० बर्ष अगाडि अर्थात बि.स २०६६ साल असार महिनाको १० गते बृदाश्रममा ल्याइपुर्‍याउदाको त्यो पल म कसरी भुल्न सक्छु।
त्यो पल मेरो चित्कारले तिम्रो हृदय पगाल्न सकेन। म रोए कराए तर त्यो कुरा आफुले जन्माएको छोराले बुझ्न सकेन अरु सुनाउने आफ्नो कोहि थिएन। म त्यही ठाउमा बस्न बिबश थिए बाध्य थिए अनि म लाचार बनेर त्यही बसे। बस्न मन लागे पनि नलागे पनि बस्नै पर्ने बाध्यात्मक अबस्थामा तिमीले ल्याइपुर्‍यायौ। तिमीले असारको पारिलो दिनमा लामो दिनमा त्यहाँ पुर्‍याएका थियौ। गाउमा धान रोप्दै गरेको भए त्यो दिन कति छिट्टै बित्थ्यो होला तर म बसेर दिन कटाउदा पनि कति उदेकलाग्दो बनेको थियो। आफू त्यही धान रोप्दै आएकोले त्यो दिन याद आउँछ। त्यो दिनहरु कति पट्यार लाग्दा थिए म कसरी सुनाउनु सुन्थे कसैका कहानी अनि चाहान्थे यस्तो दिन भोग्न नपरोस भन्थे तर आज आफैले भोगेको छु हेर त्यो तिमीलाई के थाहा छोरा यो दिन देख्न र भोग्न नपरोस् भनी ज्यामी बने नोकर बने
त्यो दिन आइपर्‍यो त्यो भोग्न म तयार बन्नुपर्‍यो।

दिन बित्दै गए। काठमाडौमा दशैले छपक्कै छोयो। गाउँमा घर हुनेहरु फर्किए गाउँ रमाइलो र सहर सुन्य हुन थायो। मलाई पनि छोराले दशैमा लिन आउला अनि म घरमा जाउला भनी यस्तै सोचेर रमाइरहेकी थिए। दशै त आयो तर तिमी मलाई लिन त के भेट्न सम्म आएनौ। तिम्रो लागि टीका लगाइदिउला भन्ने सोचेकी म कठै मेरो चाहानामै बज्रपात पर्‍यो। छोरा तिमीलाई बुहारीलाई नातीलाई नतिनीलाई टीका लगाइदिउला संगै रमाउला भन्ने सोचेकी म तिमी आएनौ तिमी आफ्नो परिवारमा खायौ खेल्यौ रमायो होला मलाई यता जिउदै मारेर म त्यो पल पनि भोगे। मलाई तिमीले ल्याइपुर्‍याएको ठाउँ कालकोठरीमा न दशै न तिहार एक्लो नितान्त एक्लो एक्लो बनेर बिताए। दशैमा तिम्रो बिदा लामो नै हुन्थ्यो आउछौ जस्तो लाग्थ्यो तर बस मन भएन मलाई घर निकालेकोमा तिमी खुशी थियौ होला त्यसैले आउन मलाई भेट्न आवश्यक सम्झेनौ।दशै सकियो तिहार लाग्यो तिमी मलाई भेट्न आउछौ लिन आउछौ जस्तो लागेको थियो बाहिर झिलिमिली थियो। मलाई तिमी लिन आउनेछौ भनी मनमा दियो बलेका थिए तर त्यो सालको तिहार तिहार मात्रै रह्ह्यो। घरमा जाने रमाउने चाहाना त्यही झिलीमिलीले नै अँध्यारो बनायो सपना तुहियो आशा तुहियो शरीर गल्यो तर जल्न बाकी थियो एक मुठी श्वास।।

बुहारीको हेला सासू हुनु यो बेला सामान्य थियो तर जन्म दिने छोरा त्यति सार्‍हो निर्दयी बन्दा मनमा सार्है चिन्ता लाग्थ्यो। दशै बित्यो तिहार बित्यो न छोरा आयो न त बुहारी नै। म त्यो आश्रममा पुग्दा आश्रम अत्यन्तै दयनीय थियो। मानिसहरू पनि थोरै उचित ब्यबस्थापन हुन सकेको थिएन फोहोर त्यस्तै थियो। सुत्दा ओढ्ने ओछ्याउने धुलो धुलो थियो। उडुस र साङ्ला उस्तै थियो। सुत्दा ओछ्यान बिझाउने उस्तै त्यो अघोषित कारागारबाट कहिले निस्केर जाउला भन्ने जस्तो लाग्थ्यो।जाने ठाउँ थिए। जेनतेन त्यही दिन बित्दै गए। पछि संचालिका एक छोरी आइन उनले राम्रो ब्यबस्थापन गरिन। उक्त आश्रय राम्रो भयो। म बिरामी थिए औषधि गर्न हस्पिटल लगिन आफ्नो आमालाई भन्दा बढी माया गरिन। दिन बित्दै गए। मेरो पनि बुढाको पेन्सन आउथ्यो केही पैसा आश्रमलाई दिए। मलाई राम्रोसँग स्याहार सुसार गरिन। मेरो जिवनको उत्तरार्धमा छोरी बनेर आइन मलाई एकदम खुशी लाग्छ। मलाई अब त्यही र त्यहाँ रहेका हर चिजसङ्ग माया लाग्छ आफ्नो जस्तो लाग्छ।

मलाई त्यहाँ पुर्‍याएको बर्ष दिन पछि एक दिन तिमी आयौ छोरा मैले रुदै भने दशै गयो तिहार गयो मलाई लिन किन नआएको म एक्लै भए मेरा हात खाली रह्ह्यो तिम्रो निधार खाली भयो। नाति नातिनी अनि बुहारीलाई कस्तो छ सोधे। हामी बिदा मनाउन सब परिवार थाइल्यान्ड गएका थियौ त्यसैले आउन सकेनौं। एक महिना बसेर फर्कियौ। म छागाबाट खसेको जस्तो लाग्यो। कहिले यो बुढी घरबाट निस्किन्छे अनि सपरिवार घुम्न जाने प्लान रहेछ। त्यो घरमा त म बाहेक पो खुशी रहेछन एक्ली म रहेछु जसलाई जसलाई तिमीहरू लगायकाको चिन्ता रहेछ। तिमी करिब आधा घन्टा बसेर फर्कियौ। मलाई मेरो मुटुको टुक्रा गएकोमा चिन्ता लाग्यो तर तिमीलाईएरो बारेमा सोध्ने फुर्सद कहाँ थियोे र??

तिमी मलाई भेट्न आउने समय पातलिदै गयो। तिमीले त्यो साबित गरिदियौ बाबू आमाको मन छोराछोरी माथी अनि छोराछोरीको मन ढुङ्गामुढा माथी हुन्छ भन्थे लाग्छ हो रहेछ। म तिमीले के गर्‍यो होला खायौ कि भोकै छ भनी तड्पिन्थे तिमी मलाई एकपटक भेट्न सम्म नआउने यो कस्तो बिडम्बना हो खै??

तिमीले पहिलो पटक बाबा बन्दा र तिम्रो श्रीमतीले पहिलो आमा बन्दा जे महशुस गर्‍यो हो त्यही महशुस मैले गरेको हो। मैले आफ्ना दस नङग्रा खियाएर र दुखले बनाएको त्यो झुपडीमा आउन मन थियो र आउथे पनि होला तर तिमीलाई बुहारीलाई म आएको देख्दा लाज लाग्ला मलाई देखेर नाति खाना खान घिन मान्ला भनेको सम्झिन्छु अनि म चाहेर पनि आउन सक्दिन अब त मेरो यहि नै घर भैसक्यो मेरो दस बर्ष यहि आश्रममा बित्यो। म चाहेर पनि यी दस बर्षमा २/४ पटक घरमा आए मुस्किलले तिमी २ पटक बुहारी कहिले आइनन। सायद म तिम्रो लागि ओज बन्न सकिन बोझ बने। दिन बिते रात बिते तिम्रो मेरो भेट अब असम्भव जस्तै भयो।

सुनेको थिए फलानो चिलानो लगायतले बा आमालाई बृदाश्रम पुर्‍यायो रे खै कसरी सक्छ्न ती छोराछोरीले ती बाउ आमाको खुशी खोस्न बुढेसकालमा छोरा नातीनातिनी सङग रमाउने रहरमाथी बज्रपात गर्न कस्तो सस्कार दिएका किन यस्तो भएको म सोच्थे कल्पिन्थे छट्पटीन्थे ती छोराछोरीलाई कस्तो माया नभएको यो कस्तो सस्कार ? तर आज म सोच्छु बा आमाको परवरिस र सस्कार राम्रो भए पनि छोराछोरी शान्त चाहादा रछन बुढेसकालमा खोक्दा पनि खिन मान्ने हुँदा रछ्न। हिजो तिनैको गु मुत सोहोरेको खाने बेलामा आची गर्दा आमाले खान छोडी सफा गरेको खै कत्ती चाडो बिर्सिन सकेका अचम्म लाग्छ खै यो कस्तो दुनियाँ ???

भए सय शोक नभए एकै सोक आज महशुल दोष मेरो भाग्यको,मैले दिएको सस्कारको, मेरो परबरिसको, समयको, मेरो वा तिम्रो वा हाम्रो हेराइको भनौ देखासिकीको हो वा एकल परिवार प्रतिको चाहानाको हो कि तिम्रो सहरिया सस्कारको मैले बुझ्न सकिन। तिमी मेरो चाहाना बिपरित आशा अपेक्षा भरोसा बिपरित हुँदा पनि तिम्रो माया लाग्छ आखिर म तिम्रो मनले स्वीकार गरे पनि नगरे पनि तिम्रो आमा हु। दोष कस्लाई लगाउ म दुखमा एकछाक मकै एकछाक भोकै बसी पनि तिमीलाई पेटभरि खान दिएको हो। आफुलाई पढ्नुपर्छ भन्ने थाहा नहुदा पनि तिमीलाई पढाएको हो आँखा देखाएको हो बाटो बनाइदिएको हो सपनाको आकार दिएको हो तिमीलाई मान्छे बनाउन हर सम्भवका प्रयास गरेकै हो तर मन पत्थर तिमीले बनायौ त त्यसमा दोस मेरो हो वा समयको म बुझ्न सकेकी छैन। समयले नकाब खोल्दै जाला वा नजाला त्यो भन्न म सक्दिन तर बस प्रतीक्षामा छु। अरु विकल्प छैन। चुपचाप छु


बिरामी पर्ने निको हुने त मेरो जिन्दगीको हिस्सा नै भएको थियो। मलाई बुढेसकालमा तिर्थ व्रत गर्न मन लाग्यो जता गए पनि सुत्नको लागि छत र खानको लागि गाँस भए हुन्थ्यो। मैले त्यही सस्थाको छोरीलाई अनुरोध गरे। उक्त सस्थाका जेष्ठ ७ जनालाई एक महिना घुमाउने गरि टिकटको ब्यबस्था गरि पठाइन। हामी ७ जना चार धाम बद्री,केदार, रामेश्वर, जगन्नाथ तिर्थ गएर फर्कियौ।बुढेसकालमा तिर्थ व्रत जान मन लाग्दो रहेछ। हामी उताबाट फर्कियौ। कहिले पशुपतिनाथ कहिले दक्षिणकाली मन्दिरको दर्शनको लागि गयौं। दिनको सुरुवात र साझमा भजन गाउने आरती गाउने गरिरहे। जिवनको उत्तरार्धमा भगवान मेरा प्रिय् बने। म उनैको आराधनामा समय बिताउछु।

एकसरो लाउन राम्रै छ एकगास खान पनि सादी पाएकी छु। तिमीहरूले खाएर बाकी बसेको खानु परेको छैन। घरमा बुहारी मलाई कहिले साजी खान दिइनन। मैले कहिले गुनासो गरिन। कुकुरलाई त मायाले दिइन्छ सम्मान गरि दिइन्छ तर उनी मलाई खान ल्याई बाहिरबाटै ढोका भित्र हुली फर्किन्थिन। केही पुग नपुग मिठो नमिठो सोध्ने बोल्ने मौका थिएन। आफ्नै घरमा म कैदी जस्तै थिए।पिन्जडामा चरा कैद भए जसरी म बन्द कोठामा कैद थिए। घर बनायौ महल बनायौ तर मन बनाएनौ। म रोगी थिए बिरामी थिए केही गर्नै नसक्ने जिर्ण थिए। मझ जिर्ण भएकी छु। आज बुढा हुन्थे त म दुख साट्थे सुख साट्थे आँसु रोदन हासो खुशी सबै साट्थे आज उनी छैनन म एक्लो छु तिम्रो साहाराको खाचो थियो छोरा तिमीले आमा बिर्सियौ। आखाबाट सदाबाहार हिमनदी बगिरहेको छन म कमजोर छु म बिछिप्त छु। जे भए पनि जस्तो भए पनि हर हालमा मान्छे जिउने कोशिश गर्छ भन्थे म पनि त्यसै गरेको छु। मलाई तिमेले घर निकाले पछि आफ्नो घरको छतले जस्तै बाँस दिएको त्यो घर अनि खान दिएको गाँस अनि त्यहाँ सबै सबैले दिएको मायाको म भारी ऋण लिएर यो सन्सारलाई बिदा गर्ने दिन नजिकिएको छ। मलाई माया दिने सद्भाव दिदै बाच्न हौसला दिने त्यो आश्रय मेरो लागि प्रिय् छ प्यारो छ। जुन घरले मलाई आश्रय दियो त्यसलाई बिर्सिन कसरी सक्छु।

बाउ मरेको छोरा सुरो आमा मरेको पो टुहुरो भन्छन म तिमीलाई मायाले सुरो बनाउन खोजे तर तिमीलाई मेरो माया कहिले कमी महशुस नहोस् भनी खोला जसरी माया दिरहेकै छु। तिम्रो घृणामा पनि माया देख्छु म।आफ्नो आफ्नो भागको भोग गरेर जानी हो भन्छ्न सायद मेरो भागको भोग मैले गरिसके। आँखा बन्द गर्छु निदाएको जस्तो लाग्दैन आँखा वरिपरि तिम्रा बा नाचिरहेका हुन्छ्न त्यो सपना हो वा मेरो भ्रम थाहा छैन खुल्ला आँखामा पनि, आँखा चिम्लिदा तिम्रा बा अगाडी उभिएका हुन्छ्न। लाग्छ उनले मलाई याद गरेका छन बोलाएका छन उनी संगै रहन्छु साथै रहन्छु।

मेरो बैंक खातामा पाँच लाख छ त्यो तिम्रो खातामा सारेको छु बाबू के थाहा यी आँखा ले भोलीको उज्यालो देख्न पाउछु वा पाउदैन तिमीलाई उज्ज्वल भबिष्यको कामना मेरो सदैब थियो र रहनेछ म बिदा भए पनि हरपल तिमीलाई चिहाउनेछु। मृत्युले ठेगाना पत्ता लगाउदै आएको छ। सबैको हेला बनेर बाचेकी म अब मृत्युको प्रिय् बन्दैछु। तिम्रो बा दुत बनेर लिन आएका छैनन।हिजो त्यो दुखका पलमा नआएका उनी अहिले मलाई हरपल साथैमा भएको आभास दिलाउछ्न। हिजो सपनामा पनि कमै आएका उनी अहिले आँखा चिम्लिन पाएको छैन आँखामा असिपुग्छ्न। मृत्युलाई पैसाको प्रलोभन हुन्थ्यो त वा चाहन्थ्यो भने त्यो गरिबको झुपडीमा आइपुग्दैन्थ्यो। मृत्युले इमानदारीता निभाउछ। त्यसैले मेरो समीप आउन कोशिशमा छ। मेरो मृत्युको दिन नजिक छ।

त्यो दिन तिम्रो लागि पनि खास हुनेछ,
जुन दिन भोलीको दिनको रुपमा आउनेछ,
हुन त तिमीलाई खासै फरक हुने छैन ।
तर पनि लाग्छ केही त महसुस पक्कै हुनेछ
आमाप्रती जननीप्रती थोरै नै भए पनि आस्था हुनेछ
तिमी आफ्नो स्वार्थी भन्दा दुनियाँको आँखामा आँखा जुधाउन भए पनि मेरो मृत्युमा आँसु बगाएको नाटक गर्नेछौ तर कोहि तिम्रो नकाब खोलिदिन तयार भएर बसेका हुनेछ्न त्यो पल प्रतीक्षा छ!!

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा