कविता

गुलाब पनि गुलाब जस्तै लाग्दैन आजभोलि 

मुखियाकोमा सयकडा पाँचमा,
ऋण काढेर श्रीमान बिदेशीएको दिनदेखि,
मेरो ओठको मुस्कान खोसिएको छ।
ओठ कलेटी परेको छ आफ्ना रहरहरु पैतालाले, कुल्चिएरै आफ्नो जिम्मेवारी पूरा गर्नुछ।
बुढा भएका सासू ससुरा बढ्दै गरेको छोरा,
सपना पूरा गर्नुपर्ने बाध्यताबाट गुज्रिएर हिडिरहेकी छु।
यसैगरी हिडेको पनि आज बर्षौ भएको छ!!

छोरी पराइको घर जाने जात न हो,
जति सक्यो त्यति छिटो बिहे गरिदिएर।
जिम्मेवारीबाट पन्छिन पाए हुन्थ्यो भन्ने बाबू आमा,
यता घरब्यबहार सम्हाल्ने बाहानामा छोराको बिहे।
गरि तह लगाउने समाज बिहे नै एक मात्र कडी,
देखेका बुद्धिजीवी/बाबू आमा,बच्चामा खाने खेल्ने। रमाउने स्वच्छन्द उड्ने उमेरमा बाध्यताले बाधिएका, थियौ हामी त्यो बिहेरुपी सामाजिक बन्धनमा।
बन्धनका सिक्रीहरुले बाधिराख्न परम्पराको हवाला दिदै, बीस मन्त्र रच्न उद्गिग्न यो समाज।
त्यहीँ गित गाउन उनकै लय समाउनु पर्छ मैले,
लाचार बनी भोग्न बिबश हुनुपर्छ म।
यस्तै त चलेको छ समाजमा बर्सौ देखि!!

बिहे भनेको सम्म नबुझ्ने त्यो १६ बर्षे,
कलकलाउदो उमेरमा बिहे गरेका हामी।
१७ बर्ष लाग्दै गर्दा आमा बुवाको,
ओजनदार जिम्मेवारी पनि आइपुग्यो शिरमाथी।
त्यो उमेरमा खुदको जिम्मेवारीसम्मको पत्तो थिएन,
हरेक कुराको ज्ञान् परेपछि बटुलिने न रहेछ यस्तै लाग्छ।
आमाबाबुको उत्तरदायित्वले थिचिएका हामी,
बाबू आमा भएको पनि बर्ष दिन पुगेको छ!!

उनले रोपेका गुलाफको फुलमा कोपिला लाग्दा,
ढकमक्क फुलेर रातै हुँदा मैले जीवन देखेथे।
सम्झिन्थे उनका हरकाम मेरो लागि समर्पित थे,
र त कयौं सुखका झिल्काहरु हात पारेकी थिए।
श्रीमान श्रीमती बिचको मिलन घामपानी जस्तो,
बाध्यताले नदिका दुई किनारमा भएका हौ।
परिवारमा सदस्य थपिए पछिको जिम्मेवारी,
यता आफ्नै आवश्यकता बढेको अनुभव पनि।
गाँस, बाँस, कपासका आवश्यकता थपिने क्रमपनी,
आफ्नो खर्चको लागि बाबुसङ्ग हात थाप्नुपर्ने अवस्था।
श्रीमती र छोराको आवश्यकता पूरा गर्ने अठोट लिएर, बिदेशीएको उनी आज बर्सौ भएको छ!!

एकसरो लाउन खानको पनि दुख,
बृद भैसकेका बा आमाको सपना।
राम्रो लाउने खाने आफ्नै तमाम रहरहरु,
छोराको राम्रो स्कुल पढाउने चाहाना।
झाङ्गिएका मानवीय स्वभावसङगै लहरिएका उनी,
आशाको एक मात्र त्यान्द्रो वैदेशिक श्रम तिर!!

चढ्दो उमेर आमा बनेपछि खुलेको शरीर,
ओठमा लाली छर्दैछ जवानी यता।
शरीरको कसिलो आकर्षक जिउडालको,
उत्कर्शमा छ चिसो र एक्लो निरस रात।
बिवष समयको कहानी आफ्नै किसिमको,
छन तनमा फिदा हुने डाहा गर्नेहरू।
बाटोमा हिड्दा सिठी बजाउनेहरु,
मुस्किलले इज्जत बचाउदै हिडेकोछु।
उनीहरूलाई पनि राम्रोसँग थाहा छ,
सिउदोमा शिन्दुर लगाइएकि छु कसैको।
गलामा श्रीमानको नामको पोते झुन्डिएको छ
कसरी अरुको बहकाउमा आउन सक्छु।
आवाराहरुको कुदृष्टीहरुबाट जोगिदै यात्रारत,
साथमा एक छोरा उस्को तोते बोलीमा फिदा छु।

श्रीमान फर्किने आशा सजाएकी थे,
उनी गएको बाटोतिर नजर लगाउदै।
उता पसिनासङ्ग मुस्किलले साटेर पठाएका,
अलिकति पैसा अलिकति आशामा लहरिएको छु।
ऋण तिर्न, नुन तेन लत्ताकपडाको जोहो गर्न,
जादाको ऋण तिर्दा परिवारमा खुशी छाएको छ।
अनायास सपनाहरु पनि नथपिएका कहाँ होर,
कमाइको थोरै बचत गर्दै नयाँ घरको जग हाल्ने,
सपना मेरो होइन परिवारको बनेर उभिएको छ।
उनको पनि श्रीमतीसङ्ग दु:ख सुख साट्ने चाहा,
अब आउछु छिट्टै घरमा म पनि जहाज चढेर।
आहा कति मिठामिठा छन उनका मेरा सपना!!

छ घर नयाँ घर बनाउने कुरा,
श्रीमती छोरासङ्ग रमाउने सपना।
कठै सपनामा तुसारापात भएको छ,
काम गरि फर्किएर सुतेका उनी।
सुतेकै ठाउँबाट कहिल्यै नउठ्ने गरि सुतेको खबर,
संगैको साथीले बा आमालाई दिएको छ।
यो दिन देख्नु अघि मलाई किन लगेनस,
ए दैब आमाको चीत्कार गुन्जिएको छ।
बाबुले बुढेउलिले गढेको आँखाबाट नुनिलो आशुका,
ढिका नागबेली तरिकाले बगाइरहेछ्न ।
न स्वर, न सुर अनि प्रतिक्रिया बिहिन भएर,
यन्त्रबत उभिरहेकी छु म मा केही बाकी छैन।
छ त केवल अनेकौं अनुत्तरित प्रस्नहरुको चाङ छ!!

उमेरले डाडो काटेका जिउ कुप्रिएका बाबू आमाले,
छोराको मृत्युको खबर सुन्नु परेको छ।
छोराको मृत्यु सस्कारमा सामेल हुन,
कुन बा आमाको चाहाना होला।
चढ्दो उमेरकि श्रीमतीको सेतो पहिरन,
यो कुन श्रीमतीको रहर होला।
घरको गर्जो टार्ने मुल खम्बा भाचिएपछि,
के गरि दैनिकी टार्नु पर्ने नियति बिचबाट।
बिबस्ताको ठूलो अचानोमा रेटिएर,
हिडिरहेछु म तर बिचरी भने हुँदै होइन।
नियतीको भोगाइ भोग्न बिबश मात्र,
आफ्ना टुहुरा रहरहरु बटुल्दै पुन जीवन दिदैछु !!

आँखाको आँसु सकिएर,
सेता बनेका छन पहिरेका बस्त्र जस्तै।
खेल्दै उफ्रिदै छोरा आउँछ छेउमा,
सोध्छ अब त हाम्रो बाबा आउने दिन आयो है,
अनायासै उसको मुखबाट निस्किएको यो शब्दले।
उसलाई कारागारको अपराधीलाई जस्तै प्रस्नसुचक, आँखाले हेरीरहिछु बस हेरिरहिछु!!

बाचेकि छु म यहाँ कसरी,
मानौ भाग्य र समयको दासी बनेर।
म पनि रुन्छु यहाँ कस्ले देख्छ,
पानी आँखाको निरन्तर बगिरहन्छ।
आशुले जान्छ अनुहारको स्नान गरेर,
लगेन मनका पिडा बगाउदै पखालेर।
बाहिर निस्कन्छु म केही भएकै छैन भनेर,
छाम्छु छाती सोध्छु प्रश्न के साच्चै छैन होला त,
मलाई श्रीमानको माया तर आफै स्तब्ध हुन्छु।
मसित अरु केही छैन बस आफै माग्ने बनेर मागिरहेछु,
भन उनको याद भुलाउन भुल्न मलाई कति लाग्छ।
यसको जवाफ छैन क्यारे स्यवम भगवानसङ्ग,
यताउता सबै चिजले गिज्याएको आभास हुन्छ। यसपटक आफैले आफैलाई गिज्याएर हासेकी छु!!

समय पनि आफ्नै गतिमा टिनटिन गर्दै कुदिरह्यो,
मेरा सुखका सपना आँखा भित्र आजिवन कैद भए।
उनको मृत्युले लाग्छ म पनि जाउ यो सन्सार छोडेर,
उनकै साथमा जाने बाटो तय गरु र मरौ कतै।
न म हुन्छु न मलाई सताउन आइपुग्ने चिन्ता,
फेरि सम्झन्छु सेतै कपाल पाकेका बा आमा।
म उहाँहरु माथी कसरी अन्याय गर्न सक्छु,
मेरो मृत्यु रोज्ने निर्णयले बा आमा र छोराको।
सपनाको हत्यारा हुनेछु म एकफेर सोच्न बाध्य हुन्छु!!

बन्द कोठा भित्र म अनेक योजना बनाउछु,
मरेर होइन बाचेर केही गर्नुपर्छ भन्ने मनमा गुनेर।
एक्लै पनि संसार चिहाउदै यात्रा गर्नुछ,
चिन्ताबाट आफैलाई बाहिर निकाल्नु छ।
जस्ले जे भनोस राडी भनोस वा बिधुवा नै,
मैले आफ्नो कर्तव्य पूरा गर्नु छ।
एक आमाले आफ्नो अभिभारा पूरा गर्ने,
एक जिम्मेवार अभिभावक बन्नु छ।
अनेक सोचले छट्पटीमा आकासको,
जुन शिरमाथी आइपुग्दा पनि निद्रा पर्दैन।
कुन बेला आँखा चिम्लिएर झकाएछु,
हतपत ब्युझन्छु ढोका उघार्दछु।
घाम त मेरै घरको माथी आइपुगेछ!!

यहीं हो त मेरो जीवनको उपलब्धि खोइ,
पाउछु झनझन बाक्लिदै गएको अन्धता।
बिबशतामा कस्तो पत्थर दिल भन्नेहरु छन,
विकल्प दिएकै छैन जीवनले त यहि नै सहि।
चल्नु छ धेरै अगाडिसम्म दुखको यो सफरमा,
हाम्रो भेटको पर्खाइ अन्त्य नहुने त्यो बेला सम्म।
उनी बिना गुलाब पनि रङ्गहिन भै बिलाएका जस्तै,
मेरो रातो बस्त्रको रंग लगेर झन गाढा रङिएको छ।
पुछिएको सिउदो खाली हात हिमाल जस्तै पहिरन,
कोइली भाका हालेर बेसुरा सङ्गितको धुन बजाउछन।
लोकको लाज राख्नको लागि रोएर रसाइ बगेका,
आँसु आखैमा सुकाउनुपर्छ पन्छ्याउनु पर्छ।
उभिनुपर्छ ती बुढाबुढी बाआमाको अगाडी,
अडिग, ढृढ रुपमा छोराको प्रतिमुर्ति बनेर।
बियोगले टुक्रिएका मुटुका चौटाहरु बटुल्दै,
छोराको आमाबाट पाउने जिम्मेवारी पूरा गर्न।
असली सन्सार त बाहिर छ,
छन केही थान कर्तव्यहरु पनि
रुने त्यो एकान्त कोठाबाट
बाहिर निस्किनुपर्छ!!

आमा छोराको पिरले बेसुर भएर,
आफैलाई अशक्त र असहाय सम्झिएर,
बेहोसिमै भनिरहेछिन बुहारी तेरो यो रुप,
देख्नु भन्दा पहिला मेरो काल किन आएन।
कस्तो मेरो लेखा आशु बगाउछिन,
चाउरिएका गाला आशुको दहमा डुबाउछिन।
म मनमनै सङ्कल्प बाधेर भए पनि बोल्छु,
बिकृत चेहेरा बोकेर पिडाले दुखेको तन बोकेर।
एक थान मन, टुक्रिएको मुटु दरिलो बनाउदै,
रोहिरहेकी आमालाई सम्झाइरहेछु।
पिडाहरु निरीह आवाज बनी दबाउदै,
बर्सौदेखि हिडिरहेछु अरुलाई खुशी राख्न!!

आमा रुनु त होइन नी जीवन को सार,
छोरा नभए पनि म छु नि बुहारी छु नी।
जन्मिए पछि सबैको मृत्यु निश्चित छ,
कुरा ढिलो चाडोको पो हो अनिश्चित।
रुन अनि बिलौना गर्न छोडिदिनुहोस,
मेरो सान्त्वनाले केहि शान्त तर मौन चेहरा।
म थप्छु मेरो जिन्दगी फुलाउने सपना टुटेपनी,
फेरि जिन्दगी कुदाउने मेरो सङ्कल्प,
आमा तपाईंले बिश्वास गरेर आशिष थप्नुहोस,
हो यसरी नै जीवनको नौलो अध्याय सुरु हुन्छ!!

बिलौना गर्ने दिन बिताउने उहाँको आदत बन्यो,
पिर चिन्ता आँसुले बिस्तारै गलाउन लागि सक्यो।
आमाको मन कहाँ मान्छ भन्दै डुबेर शोकमा,
कमजोर सरिरलाई आक्रमण गर्दैछ रोग चारैतिर!!
दमका रोगी ससुरालाई सार्‍हो पार्दैछ म सम्झाउछु,
धरतीको बोझ भएका छौँ भगवानले छिट्टै उठाअोस।
वरपर छरछिमेकमा कामसङ्ग जुधिरहेकी छु त्यैपनी,
म छु चिन्ता नगर्नुहोस भन्छु मान्दैनन् यहाँ कोहि पनी।
दुई ज्यानको एक आवाज अब जान्छौं हामी पनी!!

सम्झाउछु जति त्यति मुटु गाठो पर्दै गर्छ,
सुन्दा दन्ते कथाको कहानी जस्तै मेरो भोगाइ।
घरको मुल खम्बा आशाको जिजिबिशा ससुरा,
भगवानको साथ हुनुभयो दुख भुल्ने आशामा।
मेरो काधमा जिम्मेवारीको घनत्व थपिदिदै जादा,
म आफ्नाहरु एक एक गरि गुमाइरहेकी छु।
टुटेर जान्छन् बल्लतल्ल सजाएका सपनाका महल,
कति निष्टुरी समय यो लग्यो आफन्तहरू एकएक गरि।
म हेरीरहेछु समयका यी क्रूर खेलहरु!!

छोराको याद श्रीमानको बिछोडले,
झनै चाउरिएका गाला धमिलो गढेका आँखा ।
त्यो दिन आइदियो जुन दिनको कल्पना थिएन,
आमा भन्नू शब्द बिरानो भयो भयो घर सुन्य सुन्य।
बगर बनेको जिन्दगी चलायमान बनाउने बा आमा,
सबैको साथ गुम्यो।

चारैतिर हेर्छु हातलाग्यो सुन्य जस्तै भाछ,
दुखका अजिङ्ग पहाड आइपुग्छ थिच्न।
मर्नु पनि गार्‍हो बाच्नु पनि अप्ठ्यारो,
दुखको करुण चीत्कार असिम वेदनामा डुबिरहेछु।
समयका पदचापहरुले त्रस्त भएर जिन्दगी
मैले अरुको नाममा बकसपत्र लेखेर यात्रामा छु!!
बर्सौपछी मलाई उस्को याद आइरहेको छ,
थाकिसकेका पैतालाहरु बन्द देख्छु बाटाहरु!!

उसका जाशुसी आँखा खुब मन पर्थ्यो,
माया नबुझेरै शरीर सुम्पिदाको त्यो पल।
त्यो क्षण कसरी बिर्सिन सक्छु,
उस्को बोली उस्तै प्यारो लाग्छ।
अनुहार नदेखेको बोली नसुनेको,
पनि आज बर्सौ भएछ हो बर्सौ भएछ।
सुन्ने सौभाग्य पनि कहिल्यै मिल्दैन।
जुन कुरा बोल्न सकेकी छैन अब्यक्त छन,
म बिस्तारै महशुस गरिरहेकी छु।
आज उनले साथ छोडेर गएको पनि
बर्सौ वर्ष भएको छ !!

निद्रा बिनाको रात बिताएको छु,
तारा खस्छ म सहज मृत्यु माग्छु।
निद्रा बिना यौटा रात सकियो,
यस्तै अनिदोमा अर्को रात सकिन्छ।
यस्तै गरिगरि अब मेरो जीवन सकिन्छ।
लाग्छ यसै गरि गरि अब मेरो जीवन सकिन्छ!!

Comments

Popular posts from this blog

लघु उपन्यास

कथा