कथा

भोगाइ प्रदेशीको 
कृषा के.सी 
कोटेश्वर,काठमाडौ 
बिदेश आएको पनि आज झन्डै दस वर्ष भएको छ। भुलिए होलान गाउका केही यादहरु। बिर्सिएछु गाउमा साथीसँग खेलेका रमाएका ती कुराहरु तर डिउटी जाने आफ्नो काम गर्ने त्यो दैनिकी बिर्सिएको छैन। बिगतका केही बर्ष देखि त्यसैलाई निरन्तरता जो दिइरहेको छु। म कसरी बिर्सन सक्छु। यो बिरानो मुलुकमा दिलो ज्यान लगाएर बटुलेका केही तितामिठा यादहरु। हो बिरानो भएको छ आफू जन्मिएको गाउँ ठाउँ पनि। धन कमाउने सपनाले बिरानो भएका छन ती आफन्तका माया अनि सहानुभूतिहरु पनि । सबैको बेफुर्सद र ब्यस्तताले गर्दा फलानो फलानी भनी कुरा गर्नपनि कम भएको छ। हुन त म पनि कोहिसङ्ग कुरा गर्ने समय पाउदिन। खायो सुत्यो डिउटी गर्‍यो यत्तिकैमा बितेका छन दिनहरु। जीवनले सिढी चढेको छ। एउटा कोठा अनि एउटा अफिस भित्र कैदी जस्तै गरि बितेका छन आफ्नै जीवनका अमुल्य क्षणहरु।

यहीँ कोठामा सङगै बस्ने, खाने एकै ठाउँ डिउटी गर्ने साथीहरू नेपाल गए आफ्नो आफ्नो दुनियाँमा हराए। हराए पनि के भनौं आफ्नै दुनियाँमा ब्यस्त भए। नयाँ जिन्दगी सुरु गरे। त्यतै तिर ब्यस्त भए। यता आफ्नो बसीबसाउको त्यो दुनियाँ उजाडिएको पनि बर्सौ भएको छ। घरतिर फर्किन मन लाग्दैन जबसम्म आलिसान जिन्दगी किन्न सक्ने मसङ्ग औकात हुदैन। मैले जबसम्म औकात बनाउदिन तबसम्म त म फर्किदै फर्किदिन। जुनदिन उ त्यसैलाई महत्त्व दिदै छोडेर हिडेकी थिइ त्यसैदिन मेरो मनले अठोट लिइसकेको थियो।

डिउटी सकिदै गर्दा आज मन बेचैन बनीरहेको छ। कता कता मलाई पिउन मन लागेको छ। सुनेको छु हिराले हिरा काट्छ भनेर त्यसैले चिन्ताको नसालाइ नसाले नै भुलाउन सक्छ जस्तो लाग्यो। बिगत देखि भुल्न खोजिरहेको याद पनि ताजा बनेर मानसपटलमा नाचिरहेका छन्। चाहेर पनि उसङ्ग लिएको सात फेरो अनि त्यो बिबाहको दिन मलाई भुल्न गाह्रो परेको छ। मन त्यहीँ बिगतको दिनमा पुगेर रमाइरहेको भान भैरहेको छ। तर आज श्रीमती भनाउदी अर्कैको साथमा रमाइ रहेकी छ। म सम्झिन्छु उस्ले टाढिने बेला भनेको तिमी आफ्ना इच्छा त पूरा गर्न सकेका छैनौ मेरो सहरमा घर बनाउने गाडी चढ्न देखेका सपना त खै के पूरा गरौंला? र तिमी । म मेरा सपनालाई निमोठ्न पनि त सक्दिन त्यसैले तिमी अलग र म अलग बाटोमा हिड्नै पर्छ जुन मैले तय गरिसके। उस्को यहि एक शब्द कानमा ठोकिन आइपुग्छ।

डिउटीबाट फर्किदा म पैसाले किनेर जिबनमा पहिलो पटक एउटा यादको नसा भुलाउन अर्को नसा रक्सी बोकेर फर्किएको छु। यो पिएर म पुरै अतीत बिर्सन सकु यस्तो सोचिरहेको छु। म कोठामा एक्लै रक्सी पिइहेको थिए। सङ्गै बस्ने भाइले साथ दियो। जब नशाले जित्न थाल्यो मलाई उस्को याद आयो। रुन मन लाग्यो। अनायासै आँसु झर्‍यो। भाइ सुमित के भयो किन रोएको दाजु ? कुरा खोतल्न लाग्यो म पनि बर्सौ देखि मनमै थुनिएर गुम्सिएका कुराहरू खोतल्न लागे। बाच्दै जानू यति बेला सम्म कि नमर्ने बेला सम्म। आफ्नो विवशता प्रती सचेत छु र त म बिदेशी भुमिमा जोखिम उठाइ रहेको छु। समय अन्धकार बन्यो। रसहिन र रुखो मनले काम गरिरहेको छु। केही वर्ष अघि मेरो गरिबीको फाइदा उठाएर मेरो श्रीमती उडाएको थियो कसैले । म सुनाउन लागे। म बिगतको दिनमा पुगेछु।

साथ हुँदा उस्ले जीवनमा समस्या फिजाउथी। म उसका चाहा आवश्यकता पूरा गर्न नसकेकोमा आफुले आफैलाई धिक्कार्थे। उस्का यस्तै कुराले मलाई कमाउनु पर्छ उर्जा दिन्थे। अहिले पूरा नभए पनि कुनै दिन रहर पूरा गरिदिदा कति रमाउली म त्यहीँ सोच्थे। बोलेर कहिले भन्न सकिन। दुख गरेरै भए पनि एक दिन रमाउला यस्तै सोच्थे। मैले यहीँ कुरा उसलाई बेलैमा बुझाउन सकेको भए कतै उस्ले छाडेर र जादिन थि कि यहीँ सोचिरहेछु। हुन त मान्छेले भाग्यमा भएको मात्र पाउछ भन्छन् उस्को र मेरो सहयात्रा यति सम्मको मात्र थियो होला। त्यसैले छोडेर गहि भाइ म झन आशुमा डुबेको थिए। अनि के भयो दाइ भाउजुले छोडेर जानू भो ? उ बुझ्न खोज्दै थियो म पनि कुरा सुनाएर हल्का महशुस गर्न खोजिरहेको थिए म सुनाउदै गए एक एक गरि।

श्रीमती फोनमा भन्छे जाडो बढेको छ लगाउने खालको ज्याकेट छैन। चिसोले खुट्टा फुटेर टेक्न नहुने भएका छन लगाउन क्रीम, मलम छैन सबैले पिल्लर भएका सटर निकालेका घर बनाइसके हाम्रो खरको छानो चुहिने भयो अब किन त्यो घर मर्मत गर्ने त बरु अब त्यो पुरानो घर भत्काएर आधुनिक डिजाइनको घर बनाउनु पर्छ। पछि बेचेर शहर जादा पनि भयो। पल्लो घरको दाजु बिदेशबाट आउदा led टि भी,ल्यापटप, आइफोन ल्याइ नेट जोडेर साथीसङ्ग भिडियो कल गर्छन। हामीले कहिले त्यसैगरी भिडियो कलमा कुरा गर्ने कहिले सामान ल्याउने अरुको छोराछोरी बोडिङ स्कुलमा जान्छन छोरा भन्छ सरकारी स्कुल जान्न रे तमाम समस्या छन तिमी मौन बस्न खोज्छौ? उस्ले समस्याका चाङ्हरु बाड्छे एकै स्वासमा मेरो जवाफमा केही हुन्न भन्छु अरुको देखेर तुलना गर्नु हुन्न त्यसले सधैं दुख मात्र दिन्छ। उ बुझ्दिन जिद्दी मात्र गर्छे विकल्प नदेखेको म चुपचाप फोन काटिदिन्छु। उस्का सपना पनि समयसङ्गै बढ्न थालेछ्न। ठुलो पिल्लर भएको घर सके बेलैमा सहर पसौ भन्छे यहाँ बुढाबुढी बाउ आमालाई चैनको स्वास फेर्न दिन सकेको छैन उस्ले सहरमा बस्ने सपना देख्छे।

कताकता मलाई उस्को बोली दुख्छ उस्का सपनाले बिझाउछ्न। बुढाबुढी बाउ आमालाई अब तपाईंहरू बसेर खानु म कमाउने भए भनी भन्न नसक्दाको आफ्नो वर्तमान बिझाउछ। भन्न कति सजिलो छ बिदेश छ कमाइ छ तर यहाँ एकसरो लाउन र एकछाक खान समस्या छ। आफ्नै सपनाहरु तहसनहस भएका छन। उस्ले सहरका सपना देख्छे म त्यही चुहिने छानो मर्मत गर्ने कसरी होला भन्छु। कल्पिन्छु छटपटिन्छु कोल्टे फेर्छु निद्रा पर्दैन अह निद्रा पर्दैन। मैले आफ्नो बन्द कोठा भित्र निस्वासिदो वर्तमान देख्छु।

एकदिन श्रीमतीले फोन गरेर भनी तिमीले छोराको बोर्डिङ पढ्छु भन्ने चाहना त पूरा गर्न सक्दैनौं। मेरा साथीहरू हैसियतको सवाल गर्छन् तिमी एकसरो आवश्यकता पूरा गर्न सक्दैनौं। म यहाँ बस्न सक्दिन अब माइत गए उ घुर्क्याउछे। म छोरो पढाउन शहर जान्छु।कोठा भाडामा लिएर बस्छु पाइए जागिर गर्छु नपाइए तिमी खर्च पठाउ म जवाफमा बुढाबुढी आमा बाबुलाई चटक्कै छोडेर तिमी शहर जाने कुरा कसरी गर्न सक्छेउ? म यो मरुभूमिमा हाम्रै सुख सुबिधाको लागि त पसिना बगारहेको छु तिमी नबुझेको जस्तो नगर म सम्झाउन खोज्छु उ बुझ्दिन। आफ्नो जिद्दी गरिनै रहि अन्तत म उसलाई शहर जाने अनुमती दिए। उस्को जितको अगाडि आमा बुबाले पनि रोक्न सक्नु भएन।

कोठा सेटिङ बाबुको भर्ना लगायतको लागि खर्च पठाए। अब म काम गर्छु तिमीलाई पनि भार कम पर्छ भन्थी हुन्छ मैले सहमति जनाए। उस्लाई जरुरी हुँदा खर्च पठाए। बेला बेलामा फोन हुन्थ्यो। गाउँ घरमा असार लाग्यो त्यसो त शहरमा लागेन भन्न खोजेको होईन। किसानको लागि असार अनि गाउँघरमा असारको छुट्टै महत्त्व हुन्छ म काम सघाउ जाउ भन्छु उ बाहाना बनाउछे। बुढाबुढी आमा बुवा खेतीको बेला एक्लै मन दुख्छ उसलाई सम्झाउन खोज्दा सक्दिन उस्को स्वभाव छिटै बदलियो। उ घमण्डी बन्दै जान्छे। उसको सहर सितको नजिकाई भैसकेछ।

दशै आयो छोराको स्कुल बिदा भयो मैले भने घरमा आमा बुबा मात्र हुनुहुन्छ काममा सघाउ टीका लगाउ बहाना बनाउन लागि कामको बिदा छैन तिमीलाई परिवार भन्दा ठूलो जागीर भयो मान्छे बिदेशबाट आउछन् टीका थाप्न तिमी त्यहीँ हुँदा जान्न भन्छौं मलाई यो कल्पना सम्म थिएन यति बदलिन्छौ भनेर उस्ले जवाफमा तिम्रा बा आमाको हातको टीका थाप्न तिमी आउ न त म जान्न भने के जबर्जस्ती यस्तैमा झगडा सुरुभयो। मैले फोन काटे तिहारमा भने उ माइती पुगेकी रहेछ फोन गरे थाहा भयो। तिमीलाई घर जान पो समस्या माइती जान त हुदो रहेछ उस्ले म जे गरु तिमीलाई के मतलब सम्म भन्न भ्याइ मैले मेरो छोरा घर पुर्याइदे मलाई तेरो मतलब छैन भन्दै फोन काटिदिए।

म केहि भनिरहेको छु उस्ले बुझिरहेकि छैन। उस्ले देखेका सपना पूरा गर्ने मेरो सामर्थ्य छैन। म उस्ले बोलेका कुरा त बुझ्छु तर कुरा बुझ्न नसकेको बाहाना बनाउनु नै पर्छ।
हिजोआज त यस्तो लाग्न थालेको छ दुख्नु पनि एउटा नशा भएको छ। यदि कतै दुखेन भने लाग्छ म मरिसकेको छु क्यारे! जानेर हो वा अन्जानैमा म दुखाउने हर चिज वा बस्तु खरिद गरिरहेको छु अझ भनौ तिनैको जोहो गरेको छु। बिहेपछि घरको काममा सघाउली म भविस्यको लागि केही जोहो गरौंला भन्ने सोच्थे तर मेरो जीवनको दुखाई ब्यक्तिगत भए पनि दुखाउने कुराहरू सार्बजनिक जस्तै लाग्छ्न। महङ्गी बढेको छ बजारभाउ आकाशिएको छ, आवश्यकता दिन प्रतिदिन बढिरहेका छन त्यै पनि बाच्नै पर्ने अनिवार्यता आफ्नो अगाडि छ। आफ्नो त्यो आफैं भित्रको स्वाभिमान जोगाइ राख्न मुस्किल परेको छ। हुँकारबाट आफै पिल्सिन पुगेको छु उ बुझ्नुको साटो ठुला ठुला सपनाहरुको बिस्कुन फिजाउछे। यता मेरो आकाश त अभाव दवाबको त्यो बाध्यताबाट साघुरिएको बर्तमान छ लाग्छ यसैले भबिस्य पनि धमिलिरहेको छ।

हाम्रो भाषा एउटै हो तर पनि बोलिने शव्द फरक फरक भएका छन। इच्छा अनि चाहाना फरक भएका छन। फरक परिस्थितिमा शब्दको उच्चारण भनौ वा उपस्थिति फरक ढंगले हुदो रहेछ क्यारे त्यसैले त बुझिएको छैन।जुन कुरा मैले बुझाउन खोजेको छु उ बुझ्दिन। उस्को सपनाको उचाइ एकाएक पूरा गर्ने हिम्मत म जुटाउन सक्दिन। मनको भावना बुझाउन बोलिएका शब्द फितला भएका छन। उस्को कुरा बुझ्ने ग्रहण गर्न सकिने क्षमतामा ह्रास आएको छ। शब्दले ठिक अर्थमा प्रस्तुत हुन सकेका छैनन। कि उस्ले ठिक बुझ्न चाहेकी छैन म दोधारमा छु। उस्को सहनशीलतामा खडेरी परेको छ। तातै खाउ जल्दै मरौ भने जस्तो गर्छे। खै किन किन हामी बिचको दुरी घट्नुको साटो त्यसै त्यसै बढ्दै गएको छ।

उसङ्ग कुरा नभएको दिनहरु बढ्दै गए बित्यो महिना गयो महिनौ भयो बिते बर्षहरु पनि यो बिचमा उस्ले सम्पर्कको लागि नम्बर थियोे त्यसमा फोन नगरेको होइन त्यो चेन्ज गरिछ फोन गर्दा जहिले माफ गर्नुहोला मात्र सुनिन्थ्यो। फेसबुकमा झगडा पर्दा साथ ब्लक गरेकी थिइ। रिसमा जे गरेपनि रिस शान्त भए पछि उसैले फोन गर्नेछ म्यासेज गर्नेछ भन्ने प्रतीक्षामा दिनहरू बित्दै गरेको पनि आज दुई बर्ष पुगेछ।

म बेला बेलामा घरमा फोन गर्थे। आजभोलि कुरा भएको छैन खै मलाई थाहा छैन भन्थे। मिलेर बस भन्दै सम्झाउनुहुन्थ्यो। पछि गाउभरी शुशिलाले त अर्कै केटासँग बिहे गरिरे फेसबुक भरी फोटा राखेकि छ रे के हो भन्दै आमाले सुनाउनु भयो खै आमा मलाई थाहा भएन कस्ले भनेको गाउभरी हल्ला छ तैले फेसबुक हेर्दैनस र ए ए ल ठिकै छ म हेर्छु भन्दै फोन काटे के गरौं के नगरौं भैरह्यो फेसबुक खोले ब्लक खोलेकी छ कि भनी चेक गरे ब्लक नै रहेछ देखाएन। नयाँ फेसबुक आइडी खोले उस्को फ्रोफाइल चिहाए स्टाटर्समा आँखा कुदाए उस्ले प्रोफाइल पिस चेन्ज गरेर नयाँ बुढाबुढीको राखेकी रहिछ। म झसङ्ग भए। यसबेला मेरा सगरमाथा जस्तै चुलिएका अनेकन सपनाहरूलाई कतिबेला कोशीका ती छालहरुले किनारमा ल्याई पछारिदियो पत्तो भएन। स्मृतिका धमिलो भित्ताहरुमा उस्ले मायाले गरेका बातहरु सम्झिरहेको छु। यो मरुभूमिमा पसिना बगाउन बिवस छु माया किन्न पैसा जो कमाउनु छ। पसिनाले मरुभूमिमा सिचाइ गर्नुछ।

कसैको प्रेम पनि सफल हुन्छन। कसैका भने बिहे अनि छोराछोरी भैसकेपछी पनि टुटेर जान्छन बिछोडिन्छन। हो मेरो सम्बन्ध पनि यस्तै भएको छ। जिन्दगीमा जसका लागि खुशी किन्न बिदेशीए आज उनैले साथ छोडेर गइ। समय त कुमालेको चक्र जस्तो बनेर हातबाट निस्किदो रहेछ उ टाढिएको हिजो जस्तो लाग्थ्यो तर हेर्दा हेर्दै आज चार बर्ष पूरा भैसकेछ। छोरा पनि जवान हुँदै छ होला उस्लाई छोडेर आए देखि देख्न पाएको होइन। मलाई आलिसान जिन्दगी किन्ने पैसा कमाउन छ। यसैको अभावमा त उ मेरो माया लिलामी गरेर अर्कैको श्रीमती बन्न राजी भएकी थिइ। अहिले त्यसैको लागि त मैले सकि नसकी लामो समय डिउटीमा लगाएको छु। अहिले त म उस्का आवश्यकता पूरा गर्थे होला तर उ छैन। बुबा आमा घर फर्किएर बिहे गर भनिरहहु भएको छ। फर्किएर बिहे गरियो भने भोलि श्रीमतीले यस्तै दोष लगाउदै जाने दिन नआयोस त्यसैले त यति लामो समयसम्म खटिएको छु। छोरालाई बुबाले घर लगेर राख्नु भएको छ बाबू आमाको काखमा छ। जीवन भोगाइ र गराइका अनेक बान्की र ढाँचा छन तर एउटै कुरा मात्र दिमागमा आइदिन्छ। उसङ्ग बिछोड त्यतिको अप्रिय लागेको थिएन कुनै न कुनै दिन भेट भैहाल्छ नि यस्तै लागेको थियो। जब उ अर्कैको हुने निर्णय गरि त्यसपछि अब कहिले भेट नहोस् म सोचिरहेको छु।

पिउदा पिउदै दुई बोतल खाली भैसकेको छ रात पनि गयो उस्को याद गएन म बेहोसीमै उस्कै नाम लिदै सुत्न लागिरहेको छु। कतिबेला निद्रा लाग्यो पत्तो भएन। बिहान बन्द ढोका देखेपछि साथीहरूले बोलाउदा आवाज आएन पुलिस बोलाइ ढोका खोल्दा भित्र मुर्छित दुई जनालाई हस्पिटल पुर्‍याइयो। दिउँसो मेरो आँखा खुल्यो।
दाजुलाई कता राखिएको छ कता हुनुहुन्छ थाहा भएन। अर्को दिन मलाई डिस्चार्ज गर्ने बेला पो थाहा भयो। दाजुको मृत्यु भैसकेको रहेछ हस्पिटल पुग्नु भन्दा पहिला नै दाजु पीडा मुक्त भैसक्नु भएको रहेछ। रिपोर्टमा कामबाट थकित ज्यानमा अत्यधिक मदिरा सेवनको कारण मृत्यु भएको भनिएको छ। दाजुको घरमा के भनौं दोधार भएको छ खबर पुर्‍याउनु त छदैछ।
दाइको मोबाइलबाट नम्बर निकालेर बुबा आमालाई जानकारी गराए। उहाँहरु दोहोरो सवाल गर्न सक्नु भएन।

दस बर्ष देखि बिदेशलाई कार्य क्षेत्र बनाउएका दाजुको आलिसान जिन्दगी किन्न धन कमाउछु भन्ने सपना पूरा हुन सकेन ।

जीवनको ज्वारभाटाको तरङ्ग र नागबेली यात्राको बिचबाट गुज्रिएका दाजु याद भुलाउने बाहानामा सदाको लागि बिदा भए।

अब एक दुइ बर्षको यता बसाइ पछि घर फर्किन्छु भन्ने दाजु घर त फर्किनु भयो तर काठको बाकसमा कठै प्रदेशीको जिन्दगी !!

Comments

  1. मुटुमा लाग्ने हृदय बिधारक लेख अनि म पनि एक बिदेसी भुमिमा रुमलिएको मान्छे मलाई पनि बिझ्यो मुटुमा यस्तै यस्तै पिडा हुन्छ बिदेसिको जिवन साईलीमा ढल्किएर सबै कुरा जिवन देखी अन्तिम सम्म समेट्न सफल तपाइ लाई नमन गरे साच्चिकै भन्नु पर्दा यथार्थ लाई चित्रण गरेको छ यहाँ धन्यबाद हुजुर को यो लेखलाई !!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

लघु उपन्यास

कथा